हिउँदको समय सकिन अब करिब तीन साता मात्रै बाँकी छ । वितेको हिउँदे पाँच महिनामा हिमपात र वर्षा नहुँदा गम्भीर वातावरणीय असरहरु देखिन थालेका छन् ।

हिउँदमा हिमपात नभएपछि सेता हिमालहरु फुस्रा बन्दै गएका छन् भने पानी नपर्दा खेतबारीमा लगाएका खाद्यान्न लगाएत तरकारी बाली ओइलाउन थालेका कृषकहरुले बताएका छन् । माघ नसकिदै गर्मी बढेको र विगतका वर्षहरुको तुलनामा जाडो कम भएको म्याग्दीको बेनी नगरपालिका २ का ८९ वर्षिय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।
माघ २५ गते शुक्रबारदेखि म्याग्दीको आकाश बादल र धरती तुवाँलोले ढाकिएको छ । आइतबार (हिजो) चिसो हावा चलेको भए पनि पानीको छिटा नपरेपछि पानी पर्छ कि त भन्ने कृषकहरुको आशा पनि निरासामा परिणत भएको छ । तत्काल पानी पर्ने र हिमपात हुने सम्भावना न्यून देखिएको जल तथा मौसम विज्ञान विभागका विज्ञहरुको अनुमान छ ।
जल तथा मौसम विज्ञान विभागले मङ्सिर १५ देखि फागुन १६ सम्मको हावापानी आँकलन गर्दा औसतभन्दा कम पानी पर्ने र न्यूनतमदेखि अधिकतम तापक्रम बढ्ने पूर्वानुमान यस अघि नै गरेको थियो । हिउँदमा औसतभन्दा कम पानी पर्ने प्रक्षेपण जल तथा मौसम विभागको थियो ।
तत्काल पानी पर्ने र हिमपात हुने सम्भावना नदेखिएपछि हिउँदे खडेरी पर्ने भन्दै विज्ञहरुले कृषि, जल, वन, ऊर्जालगायत क्षेत्रमा असर पर्ने चिन्ता व्यक्त गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले यही अवस्था रहीरहने हो भने तत्काल पानी पर्ने र हिमपात हुने सम्भावना नरहेको बताउनुभयो । “अहिलेको अवस्थामा वर्षा र हिमपात भइहाल्ने लक्षण देखिदैन । सुख्खा खडेरीको लक्षण देखिएको छ । यद्यपि फेब्रुअरी नसकिएसम्म समग्र यो हिउँद कस्तो भयो भन्न मिल्दैन ।” प्रवक्ता पोखरेलले बताउनुभयो ।
हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण पर्यावरणीय संकटहरु देखिन थालेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । हिमालमा हिउँको मात्रा घट्दै गएको छ । हिमालमा हिउँ कम जम्मा भएको र त्यसको स्तर (हिउँरेखा) तल–माथि हुने गरेकोले पर्यावरणीय संकट बढ्दै जान थालेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका (इसिमोड) का वैज्ञानिकहरुले बताएका छन् ।
नेपालमा मुख्यालय रहेको (इसिमोड)ले हालै सार्वजनिक गरेको हिउँ अध्ययन अध्यावधिक रिपोर्ट २०२४ अनुसार हिमालय क्षेत्रमा सन् २०२४ को जाडो याममा सरदरभन्दा कम हिउँ पर्ने र जमिनमा हिउँ रहिरहने समय अवधि पनि घट्ने जनाएको थियो ।
हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाने तर समयमा हिमपात नहुने र भए पनि अत्यन्त कम मात्रामा हुने गरेकोले केही वर्ष अघिसम्म चाँदी जस्तै टल्कने सेता हिमालहरु पछिल्ला केही वर्षयता काला पहाडमा परिणत हुँदै जान थालेका इसिमोडमा कार्यरत वैज्ञानिक शेर मोहम्मदले उल्लेख गर्नुभएको छ ।
“पानीको बहावको समय र तीव्रतामा व्यापक फेरबदलको संकेत देखिएको छ । यो शोधकर्ता, नीति निर्माता र तल्लो तटीय क्षेत्रमा रहने समुदायहरुका लागि खतराको घण्टी हो ।” वैज्ञानिक मोहम्मदले भन्नुभएको छ ।
इसिमोडका वैज्ञानिकहरुले पानी अभाव, बाढी, खडेरी जस्ता प्राकृतिक प्रकोपबाट जोगिन सक्रिय कदम उठाउनुपर्ने र हरितगृह ग्याँस उत्सर्जन घटाउनुपर्नेमा जोड दिएका छन् ।
हिउँद याममा हिउँ पर्ने क्रम घटेको र हिमालय क्षेत्रको जमिनमा हिउँ धेरै समयसम्म रहिरहन नसक्ने समस्या देखिन थालेको वैज्ञानिकहरुको भनाइ रहेको छ ।
म्याग्दीको मुदीमा रहेको संसारको सातौँ अग्लो धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएको छ । आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल पहिले बाह्रै महिना पूरै हिउँले ढाकिने गरेको भएपनि विगत केही वर्षयता हिमालको तल्लो भाग हिउँविहीन देखिने गरेको म्याग्दीका पर्यटन व्यवसायी चक्रबहादुर तिलिजा पुनले जानकारी दिनुभयो ।
“पहिले धौलागिरि हिम शृङ्खला पूरै हिउँले ढाकिएको हुन्थ्यो, पछिल्ला केही वर्षयता हिमालका तल्लो भाग काला पहाडजस्ता देखिन थालेको छ, जाडो याममा समेत हिमालहरु नाङ्गिएको देखिन्छ,” तिलिजाले भन्नुभयोे । “हिउँदेयाममा समेत हिउँ नपरेपछि डाँडाकाँडा रूखा र सुक्खा देखिनथालेका छन् भने हिमालहरू कालापत्थरमा परिणत भएका छन् । हिमालको शोभा घटेको छ । पहिले चाँदीझैं टल्कने हिमाल अहिले उराठलाग्दा देखिनथालेका छन्” वन र वातावरणको क्षेत्रमा खोज र अनुसन्धान गर्दै आउनुभएका डिभिजन वन कार्यालय म्याग्दीका वन अधिकृत चन्द्रमणी सापकोटाले बताउनुभयो ।
असोज कात्तिकमा अत्यधिक वर्षा हुनु, मंसिर,पुस र माघ महिनामा पनि कम हिउँ पर्नु, विगतको जस्तो मंसिर, पुस महिनामा हिउँ नपर्नु, पानी नपर्नु, जलवायु परिवर्तनको प्रभाव मान्न सकिने वन अधिकृत सापकोटाको भनाइ छ ।
सुख्खा खडेरी बढ्ने संकेत
जल तथा मौसम विभागको पूर्वानुमान विभागले हिउँदको बाँकी रहेको तीन साताको समयमा पनि वर्षा र हिमपातको मौसमी प्रणाली नरहेको बताएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले तत्कालै हिउँदे वर्षा र हिमपात हुने लक्षण नदेखिएकोले सुख्खा खडेरी बढ्न सक्ने बताउनुभयो ।
उहाँका अनुसार जलवायु परिवर्तन र तापक्रम बृद्धिका अब्जरभेसनहरु आइरहेकाले मौसमी प्रणालीमा पनि परिवर्तन देखिएको हो ।
जलवायु विज्ञ डा. धर्मराज उप्रेती पनि हिउँदको बाँकी अवधिमा पानी पर्ने सम्भावना न्यून देखिएको बताउनुहुन्छ ।
“गत वर्ष (पोहोर) पनि ८० प्रतिशत कम वर्षा भएको थियो । यसपटक पछिल्ला दुई वर्षको रेकर्ड तोडिने अवस्था भइरहेको छ,” डा. उप्रेतीले भन्नुभयो “कम वर्षा भएको यो लगातार तेस्रो हिउँद हो । फेब्रुअरी २८ पछि हिउँदे अवधि सकिएर प्रि–मनसुन शुरु हुन्छ, अब बाँकी तीन हप्ता हिउँदमा पानी पर्ने सम्भावना न्यून छ ।”
पश्चिमी वायु कमजोर
डा.उप्रेतीका अनुसार भूमध्य सागरको सतहको तापक्रममा आएको परिवर्तन र त्यसले सिर्जना गर्ने पश्चिमी वायु कमजोर भएसँगै अरब सागर र बंगालको खाडीमा पनि समुद्री सतहको तापक्रममा आएको परिवर्तनले पश्चिमी वायु कमजोर देखिएको छ । पश्चिमी वायु सक्रिय भएन भने वर्षा हुन नसक्ने उहाँको भनाइ छ । “यसपटक पश्चिमी वायु सक्रिय हुन सकेन । त्यसै कारणले यसपालि कर्णाली र सुदूरपश्चिमका केही भूभागमा बाहेक अन्यत्र वर्षा र हिमपात हुन सकेन ।”
उहाँका अनुसार अहिलेसम्म ९.२ प्रतिशत मात्रै वर्षा भएको छ । “हिउँदे अवधिमा औसतमा ६१ मिलिमिटर पानी पर्नुपर्ने हो तर ५.५ मिलिमिटर मात्रै परेको छ, त्यो पनि पश्चिमी भागमा मात्रै” डा.उप्रेतीले भन्नुभयो ।
पारिस्थितिकीय प्रणालीमा असर
जलवायु परिवर्तन र तापक्रम बृद्धिका कारण समग्र पारिस्थितिकीय प्रणालीमा असर पर्दै जान थालेको जानकारहरुले बताएका छन् ।
कृषि वैज्ञानिकहरुका अनुसार हिउँदमा पानी नपर्दा कृषि–खेती प्रणाली, वन प्रणाली, ऊर्जा प्रणालीमा नराम्रो प्रभाव पर्दै गएको छ । पानीका स्रोतहरु सुक्दै गएका छन् । सिंचाइको प्रवन्ध नभएका ठाउँहरुमा खडेरीले खाद्यान्न उत्पादन घटेको छ ।
“हिमाली क्षेत्रका जमिनमा माटोको अम्लिएपना बढ्दै जाँदा रैथाने बालीहरु लोप हुँदै गएका छन् । जंगली फलफूलको पाक्ने समय परिवर्तन भएको छ । कैयौं वनस्पति र जंगली पशुपंक्षीहरु देखिन छोडेका छन् । खोला तथा नदीहरुमा पानीमा मात्रा कम हुँदै गएको छ”हिमाली क्षेत्रको वातावरणीय अध्ययनमा सक्रिय प्रत्युष वाग्लेले भन्नुभयो “हिमाली क्षेत्रको पर्यावरणमा गम्भीर चुनैति उत्पन्न भएको छ ।”
“वनमा जंगली जनावरले पानी नपाउनेलगायत समस्या बढेका छन् । जंगली जनावरहरु जंगल छोडेर गाउँ वस्तीतिर पस्न थालेका छन् । सुक्खा बढेका कारण वनमा आगलागी घटना भइरहेका छन् । शहरहरूमा प्रदूषण खतराको तहसम्म पुगेको छ ।” वाग्लेले भन्नुभयो । पानी नपर्दा हिमालमा हिउँसँगै तल्लो भेगमा पानीलाई असर गरिरहेको वाग्लेको भनाइ रहेको छ । “हिउँ नपर्दा हिमाल नांगा देखिएको, काला पत्थर देखिएको, ठाउँ–ठाउँमा उजाड भएको छ, यसको सीधै प्रभाव तल आएर पानीमा देखिन्छ । पानीका मुहान, स्रोत सुक्न थालेका छन् जसले गर्दा पिउने पानीको समेत संकट आउन सक्छ‚” वाग्लेले भन्नुभयो ।
यस वर्ष (सन् २०२४ मा हिउँको मात्रा विगत २० वर्षको औसतको तुलनामा १८.५ प्रतिशतले कमी आएको इसिमोडले जनाएको छ । सन् २०१८ मा हिउँको मात्रा सर्वाधिक कम थियो भने यसवर्ष २०१८ को तुलनामा ०.५ प्रतिशतले मात्रै बढेको इसिमोडको तथ्याङ्कमा उल्लेख छ ।
गर्मी ठाउँमा मात्र पाइने लामखुट्टे हाल उच्च पहाडी र हिमाली भू–भागमा पनि पाइन थालेका छन् । जलवायु परिवर्तनकै कारण महत्वपूर्ण जडीबुटी तथा वनस्पति लोप भइसकेका छन् । साथै पृथ्वीमा समयमै पानी नपर्ने, परेपनि कहिले लगातार परिरहने (अतिवृष्टि) त कहिले पानी नै नपर्ने भइरहेको छ । यसरी कहिले अत्याधिक वर्षा भइ धनजनको विनास हुने त कहिले पानी नै नपरी खेतीबाली तथा वनजंगलनै सुक्ने अवस्था आइरहेको छ ।
जलवायु परिवर्तनकै कारण नयाँ–नयाँ रोगको देखिएका छन् । जुन विश्वकै लागि एक प्रमुख चुनौतिको विषय हो । यसको असर बढ्दै जाँदा नेपालको हिमाली क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी यार्सागुम्बा लगायतका वनस्पति पनि लोप हुने खतरा छ । पृथ्वीमा वायुमण्डलको तापक्रम, हावाको बहाव र वर्षातमा हुने घटबढका कारण पृथ्वीको कुनै भागमा मौसममा हुने महत्वपूर्ण परिवर्तनै जलवायु परिवर्तन हो ।
पृथ्वीको वायुमण्डलमा खासगरी नाइट्रोजन, अक्सिजन, कार्बनडाइअक्साइड जस्ता ग्यासहरुमा घटबढ भएमा खासगरी जलवायु परिवर्तन हुने मौसमविज्ञहरु बताउँछन् । हाल पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साईड, नाइट्रोजन, मिथेन जसता ग्यासहरुको मात्रा दिन प्रतिदिन बढ्दै गइरहेकोले गर्दा वायुमण्डलमा असन्तुलन भइ जलवायु परिवर्तन ल्याउने हतिरगृह ग्यास बढेर जलवायु परिवर्तन हुन्छ । जलवायु परिवर्तनका कारण मानव स्वास्थ्यमा समेत गम्भिर असरहरु देखिन थालेका चिकित्सक तथा वातावरण विज्ञहरुले बताएका छन् ।




