म्याग्दी । म्याग्दीमा स्थापित सुदिप रावल स्मृति कोषले बिहीबार गतवर्षको दश जोड दुईको परीक्षामा जिल्लामा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने दुईजना विद्यार्थी र विद्यालयलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

सुदिप रावल स्मृति कोषले १६ औँ स्मृति दिवसको अवसरमा ३.७० जिपिए ल्याएर जिल्ला प्रथम हुनुभएका प्रकाश माविका छात्र शुभम नेपाली र द्धितीय हुनुभएका न्यू वेष्ट पोइन्ट आवासीय माविका छात्रा शुभम श्रेष्ठ (३.६० जिपिए) लाई नगर रु १० हजार र पाँचहजार सहित सम्मान तथा पुरस्कृत गरिएको हो ।
म्याग्दी पुस्तकालयका अध्यक्ष अम्विक श्रेष्ठ र बेनी नगरपालिका वडा नं ७ का वडाअध्यक्ष रमेशकुमार श्रेष्ठले म्याग्दी पुस्तकालय अन्तरगत सञ्चालित सुदिप स्मृति कोषबाट नगद तथा प्रमाणपत्रले सम्मान गर्नुभएको हो ।
२०६५ साल फागुन १ गते बागलुङ बजारबाट मालढुङ्गा जाने क्रममा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनुभएको बेनी नगरपालिका वडा नं १ रत्नेचौरका सुदिप रावलको स्मृतिमा स्वर्गिय रावलको परिवारले रु दुईलाखको अक्षय कोष स्थापना गरेको थियो । उक्त कोषको व्याजबाट हरेक वर्ष कक्षा १२ मा सर्वोत्कृष्ट अंक ल्याउने दुई जना विद्यार्थी र विद्यालयलाई सम्मान गरिदै आएको छ ।




