ज्यामरुककोट समाज नेपालले प्रकाशन गरेको म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा पर्ने ऐतिहासिक महत्वको गाउँ ज्यामरुककोटको खोजमूलक चिनारी पुस्तकको शनिबार (हिजो) काठमाण्डौंमा विमोचन गरिएको छ ।

देशका विभिन्न ठाउँ तथा विदेशमा रहदै आएका ज्यामरुककोटेहरुको संस्था ज्यामरुककोट समाज नेपालको ११ औँ वार्षिकोत्सवको अवसरमा उक्त पुस्तक विमोचन गरिएको हो । पुस्तकको विमोचन गर्दै विशिष्ट अतिथी नरबहादुर थापाले तत्कालिन पर्वत राज्य अन्तर्गतको प्रमुख सामरिक स्थल ज्यामरुककोटलाई बुझ्न र यहाँका सम्भावनाहरुलाई उजागर गर्न पुस्तक निकै महत्वपूर्ण हुने बताउनुभयो ।
जागिर,अध्ययन,व्यापार,व्यवसाय वा स्थायी व्यवस्थापनका साथ काठमाण्डौंमा बस्दै आउनुभएका ज्यामरुककोटका अग्रजहरुद्धारा गठन गरिएको उक्त संस्थाले प्रकाशन गरेको १३० पृष्ठको ज्यामरुककोटसमाज नेपालको खोजमूलक चिनारी नामक पुस्तकमा ज्यामरुककोटको इतिहास,यहाँ रहेका सम्पदाहरुको परिचय,विकास तथा समृद्धिका सम्भावना र देखिएका चुनौतिहरुको बारेमा खोज र अनुसन्धानमूलक सामाग्रीहरु प्रकाशित गरिएको पुस्तकका सम्पादक वरिष्ठ कृषि वैज्ञानिक डा.टीकाबहादुर कार्कीले बताउनुभयो ।
वरिष्ठ कृषि वैज्ञानिक डा.कार्की र उपप्रध्यापक बालकृष्ण शर्मा सम्पादक रहनुभएको उक्त पुस्तकमा ३० वटा विधाका लेख तथा जानकारी मूलक आलेखहरु प्रकाशित छन् ।
कार्यक्रममा उपाध्यक्ष कृष्णबहादुर कार्की,पूर्व उपाध्यक्ष भीम सापकोटा,पूर्व अध्यक्ष रामबहादुर कार्की,सल्लाहाकार मदन थापा,टीका कार्की,विश्व बम मल्ल र हिराबहादुर घिमिरेले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सोही अवसरमा डा.भवीन्द्र कुवँर र प्रहरी निरीक्षक अशोक मल्ललाई सम्मान गरिएको थियो । ज्यामरुककोट समाज नेपालको खोजमूलक चिनारी पुस्तक र पुस्तक प्रकाशनको विषयमा सम्पादकको तर्फबाट वरिष्ट वैज्ञानिक डा.टीकाबहादुर कार्कीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।




