म्याग्दी । म्याग्दीको बेनी बजारमा अवस्थित माउण्ट एभरेष्ट आवासीय माविको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ शुक्रबार सम्पन्न भएको छ ।


गत मंगलबारदेखि सुरु भएको वार्षिकोत्सव विद्यार्थी,अभिभावक र शिक्षकहरुलाई प्रशिक्षण,पुरस्कार वितरण,सम्मान,बुद्धिबिम्ब पत्रिका विमोचन तथा विविध कार्यक्रमका साथ शुक्रबार सम्पन्न भएको हो ।

वार्षिकोत्सवको पहिलो दिन कक्षा १ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुलाई बदलिँदो समय, परिवेश र प्रविधिमा अभ्यस्त जीवनशैलीका कारण आफ्ना छोराछोरीहरुमा परेको प्रभाव र अभिभावकको भूमिका विषयमा प्रशिक्षण सम्पन्न भएको थियो । त्यसैगरी दोस्रो दिन कक्षा १० मा अध्ययनरत विद्यार्थी र उनीहरुका अभिभावकलाई प्रशिक्षण दिइएको थियो ।

विद्यालयका संस्थापक/संचालक तथा उत्प्रेरक लायन्स चन्द्र केसी र पत्रकार विनोद धौलागिरिले विद्यार्थी,अभिभावक र लायन्स तथा उत्प्रेरक चन्द्र केसीले शिक्षकहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

त्यसैगरी वार्षिकोत्सवको अन्तिम दिन आज विद्यालयमा एक समारोहको आयोजना गरी विभिन्न आन्तरिक, जिल्लास्तरीय र प्रदेश स्तरीय प्रतियोगिताहरुमा प्रथम,द्धितीय र तृतीय स्थान प्राप्त गर्न सफल विद्यार्थी,उत्कृष्ट अभिभावक,विद्यालयमा लामो समयसम्म सेवारत शिक्षक,कर्मचारी लगाएतलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
सो अवसरमा विद्यार्थी र अभिभावकहरुले विभिन्न किसिमका सांगीतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी बेनी नगरपालिकाका शिक्षा अधिकृत कमलप्रसाद ढकालले म्याग्दी जिल्लाको शैक्षिक क्षेत्रमा माउण्ट एभरेष्ट आवासीय माविले माउण्ट एभरेष्ट जत्तिकै उचाइ प्राप्त गरेको र यसलाई निरन्तरता दिँदै अझ गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिन आवश्यक रहेको बताउनुभयो ।

अभिभावक,शिक्षक र संचालकको आपसी समन्वयका कारण नै विद्यालयले यो उचाइ प्राप्त गरेको उल्लेख गर्दै प्रमुख अतिथी ढकालले अभिभावकहरुको सल्लाह,सुझाव र निगरानी विद्यालयको विकासका लागि सहयागी हुने विचार व्यक्त गर्नुभयो ।
विद्यालयका प्रिन्सिपल राजु केसीले माउण्ट एभरेष्टको विरासतलाई कायम राख्न आफू र आफ्नो टिम अनरवत लागिरहेको बताउँदैे संस्कार सहितको व्यवहारिक र व्यवसायिक शिक्षा अवको लक्ष्य भएको स्पष्ट पार्नुभयो ।
विद्यार्थीहरुको प्रतिभा र क्षमता पहिचान गरेर उनीहरुको प्रतिभा प्रस्फुटनका लागि विद्यालयले अनुकुलको वातावरण सृजना गर्ने प्रिन्सिपल केसीले बताउनुभयो ।
सोही अवसरमा विद्यालयबाट पुनः प्रकाशन सुरु भएको बुद्धिबिम्ब साहित्यिक तथा समसामयिक मासिक पत्रिकाको प्रमुख अतिथी ढकाल र प्रिन्सिपल केसीले बिमोचन गर्नुभएको थियो ।

कार्यक्रम प्रिन्सिपल केसीको अध्यक्षता,विद्यार्थीहरु सुनेना शाक्य र मेधावी केसी तथा शिक्षक अञ्जु शाहीको स्वागत,धु्रवसागर शर्मा र सुरेन्द्र थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।



