म्याग्दी । म्याग्दीको बेनीस्थित माउण्ट एभरेष्ट आवासीय माविका एन्जेलिना भट्टचन,रिहाना थापा,कुशल पुन,सुमन विक र अनमोल छन्त्यालले काठमाण्डौंको स्वयम्भु,विद्याकी देवी सरस्वती,गौतमबुद्ध, राधासँग मुस्कुराइरहेका भगवान कृष्णका फोटाहरु खोजेर ल्याए । ती फोटाहरुलाई राम्रोसँग नियाली सकेपछि आफूले बनाउने चित्रको परिकल्पना गरी विद्यालयको भित्तामा आकार दिन थाले । आफ्नो पहिलो अभ्यासमै उनीहरुले आध्यात्मिक वातावरण र धार्मिक भावमय ‘कोलाज’ तयार पारे । व्यावसायिक कलाकारले बनाएको सुन्दर कलाकृतिभन्दा फरक बनेन उनीहरूका सृजना ।


विद्यालयको सभाहलको भित्तामा देवी देवता र नेपालका राष्ट्रिय सम्पदालाई आकारमा ढालेर आकर्षक चित्रहरु बनाइदिए । उनीहरुले बनाएका चित्रमा दैवी शक्ति,आध्यात्मिक भाव र प्राकृतिक सौन्दर्यको मिश्रण छ । विभिन्न आसनमा देवीदेवता,ध्यान र समाधिमा तल्लीन भएजस्ता देखिने स्वयम्भुका दुइवटा आँखा,ज्ञानका लागि ध्यान गरिरहेका गौतमबुद्धका चित्र सभाहलको भित्तामा उतारे ।
विद्यालयको भित्तामा उनीहरूले आफ्नो कला प्रस्तुत गरेका छन् । केही महिनाको सिकाइमाविद्यालयको भित्तामा सुन्दर सृजना भरेका उनीहरू यसरी कला देखाउन पाउँदा निक्कै खुसी छन् ।

नजिकै उभिएर विद्यालयका अरु विद्यार्थीहरुले उनीहरुको कलालाई नियालीरहेका छन् । उनीहरूलाई निमा शेर्पाले ‘आर्ट’ सिकाइरहनुभएको छ भने प्रिन्सिपल राजु केसीले के के बनाउने भन्ने निर्देशन दिइरहनुभएको छ । शिक्षा र सीप कार्यक्रमअन्तर्गत विद्यालयले विभिन्न किसिमका सीपमूलक क्रियाकलापहरु आयोजना गरिरहेको र विद्यार्थीहरूले पाठ्ययपुस्तकबाहेक यसरी नयाँ सीप सिकिरहेका छन् ।
यो सीप सिकाइ कार्यक्रमका साथै विद्यालयले विद्यार्थीहरुलाई योगा र मेडिटेशन पनि सिकाइरहेको छ । बिहान ६ बजेदेखि ६ः४५ बजेसम्म कक्षा १० का ५८ जना विद्यार्थीहरु नियमित योगा र मेडिटेशनको अभ्यास गरीरहेका विद्यालयका प्रिन्सिपल राजु केसीले बताउनुभयो ।
“हामीले विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सीमित गरेका छैनौँ,विभिन्न सिर्जनात्मक काम,व्यवहारिक ज्ञान र योगा,मेडिटेशन र ध्यान पनि सिकाउँदै छौँ” उहाँले भन्नुभयो ।

विद्यार्थीलाई मात्रै होइन अभिभावकहरुलाई समेत विद्यालयले योगा,ध्यान,मेडिटेशन,प्रशिक्षण लगाएतका कार्यक्रमहरु संचालन गरेको छ । गत माघमा कक्षा ९ का अभिभावकहरुलाई लक्षित गरी एकहप्ते ध्यान तथा मेडिटेशन शिविर आयोजना गरेको र गत साता कक्षा १ देखि १० सम्मका विद्यार्थीका अभिभावकहरुलाई लायन्स तथा सामाजिक उत्पे्ररक चन्द्र केसी र पत्रकार विनोद धौलागिरिले छोराछोरीको भविष्य निर्माणमा अभिभावकको भूमिकामा केन्द्रित रही प्रशिक्षण दिनुभएको प्रिन्सिपल केसीले जानकारी दिनुभयो ।
विद्यालयका चारसय बढी विद्यार्थीले यसरी कला सिर्जनाको सीप सिकिरहेका छन् । उनीहरूलाई हरेक शुक्रबार आर्ट सिकाइन्छ । विद्यार्थीले स्केच, पोष्टर कलर, पेन्सिल कलर सिकिसकेका छन् । अब माटो कलाको आधारभूत ज्ञान सिकाइने प्रिन्सिपल केसीले बताउनुभयो ।

प्रशिक्षक निमा शेर्पाले भविष्यमा आर्टिष्ट बन्न चाहने विद्यार्थीहरुका लागि यस्ता कार्यक्रमहरु महत्वपूर्ण हुने बताउनुभयो ।जुनसकुै क्षेत्रमा पनि आर्ट महत्वपूर्ण हुने उहाँको भनाइ छ । “फेसन डिजाइनमै जाँदा पनि कलर मिलाउन जान्नुहुन्छ, यस्तै अन्य क्षेत्रमा पनि आर्ट मिसाउन सक्नुहुन्छ र आफ्नो कार्यलाई उत्कृष्ट बनाउन सक्नुहुन्छ” उहाँले भन्नुभयो ।

आर्ट कक्षामा सहभागी विद्यार्थीहरु निकै खुसी छन् । पहिलोपटक विद्यालयको भित्तामा यस्ता चित्रहरु बनाउन पाउँदा निकै खुसी लागेको कक्षा १० की छात्रा एन्जेलिना भट्टचनले भन्नुभयो । “नियमित कक्षाका साथै कलासम्बन्धी नयाँ सीप सिक्न पाउँदा खुसी लागेको छ” उहाँले भन्नुभयो ।




