म्याग्दी ८ चैत
म्याग्दी जिल्लाबाट जापानमा गई अध्ययन,जागिर वा व्यापार व्यवसाय गर्दै आएका म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना)जापान क्षेत्रीय समिति नागोयाले जापानमा रहेका नेपाली विद्यार्थीहरुको भाषगत ज्ञान र वीरगञ्ज कृषि औजार कारखानालाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले जापानिज भाषा वक्तृता लेखन प्रतियोगिता २०२५ आयोजना गर्ने भएको छ ।
आगामी अप्रिल १० मा हुने उक्त प्रतियोगिताका लागि आफूले लेखेको वक्तृता (साकुबुन)जिमेल मार्फत अप्रिल १ देखि १० सम्ममा पठाइसक्नु पर्ने मोना जापान क्षेत्रीय समिति नायोयाले जनाएको छ । वक्तृता ६सयदेखि ८ सय शब्दसम्मको हुनुपर्ने जनाइएको छ ।
आफ्नो स्थापना कालदेखि विभिन्न आरोह अवरोहहरुलाई छिचोल्दै संस्थाको भेला,छलफल र निर्णयहरु गरी विभिन्न समयमा शैक्षिक एवम सामाजिक कार्यहरु निरन्तरता दिदै आईरहेको संस्थाले आगामी दिनमा रचनात्मक कार्यहरु आयोजना गर्दै मोना जापान क्षेत्रीय समिति नागोयाका कार्यक्रम संयोजक सागर थापा बगालेले जानकारी दिनुभयो ।


उहाँका अनुसार दुई चरणमा आयोजना गरिने प्रतियोगितामा विषयवस्तु स्वतन्त्र हुने र कसैको राजनीतिक,धार्मिक तथा सामाजिक आस्था माथि प्रहार हुने खालको आक्षेप लगाउन पाइने छैन ।
प्रथम चरणमा सम्पूर्ण सहभागिहरुले मोना नागोयाको आधिकारिक मेलमा आफ्नो नाम,नम्वर,नेपालको स्थायी ठेगाना,जापानको ठेगाना र अध्ययन गरिरहेको विद्यालयको नाम सहित आफ्नो साकुबुन पिडिएफ बनाइ पठाउनु पर्ने छ । उत्कृष्ट पाँचमा छनोट भएका प्रतियोगिहरुलाई मेल वा सम्पर्क नम्वरमा सम्पर्क गरी फाइनल प्रतियोगितामा उपस्थित गराइने थापाले जानकारी दिनुभयो ।
प्रथम,द्धितीय र तृतीय हुनेलाई नगद सहित मायाको चिनो र प्रमाण पत्र प्रदान गरिने बताइएको छ । उक्त अवसरमा संकलित रकम बीरगञ्ज कृषि औजार कारखानालाई सहयोग गरिने संयोजक थापाले बताउनुभयो । साथै टाढाबाट आउने प्रतियोगिको हकमा २ मान यान आयोजकले उपलव्ध गराउने पनि उहाँले जानकारी दिनुभयो ।




