म्याग्दी १४ असार
शुक्रबार प्रकाशित भएको २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा अनुसार बेनीको माउन्ट एभरेष्ट आवासीय माविको विरासतको चर्चा सुरु भएको छ ।
जिल्लामै छात्रतर्फ सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको विद्यालयले शैक्षिक उपलब्धीलाई जोगाउँदै नयाँ गन्तव्यको नजिक पुग्न सफल भएको हो ।
गणितीय हिसावबाट हेर्दा अत्यन्त थोरै अङ्कले ४ जिपिए ल्याउनबाट वञ्चित भएपनि समग्रमा उत्कृष्ट परिणाम प्राप्त गर्न सफल भएको विद्यालयका प्रिन्सिपल राजु केसीले बताउनुभयो । ३.९७ जिपिए सहित छात्रतर्फ जिल्ला प्रथम हुन सफल आयुष सुवेदी र २२ औं जेसिज कप फुटबल प्रतियोगिताबाट जिल्लामा बेग्लै पहिचान बनाएका सनम विकको एसइईमा प्राप्त सफलताले विद्यालय परिवार अत्यन्त हर्षित भएको प्रिन्सिपल केसीले बताउनुभयो ।
प्रिन्सिपल केसीका अनुसार विद्यालयले पुरानै लयलाई पक्रिदै नयाँ गन्तव्यको नजिक पुगेको र आगामी वर्षहरुमा गन्तव्यमा पुगेरै छोड्ने अठोट लिएको छ । यस वर्षको एसइई परीक्षामा विज्ञानमा २७ जना,नेपालीमा ९ जना,अङ्ग्रेजीमा १३ जना,गणितमा ९ जन,सामाजिकमा ८ जना,अतिरिक्त गणितमा ३ जना,अर्थशास्त्रमा २ जना र कम्प्यूटरमा २ जना विद्यार्थीले ४ जिपिए लयाउन सफल भएका छन् ।
यो सफलताले विद्यालयलाई एउटा मानक निर्धारण गर्न र सोही अनुसार गन्तव्यमा पुग्न प्रेरित गरेको प्रिन्सिपल केसीले बताउनुभयो ।
“हाम्रो विद्यालयले परीक्षा केन्द्रित शिक्षण विधिलाई मात्रै केन्द्रमा राखेन । विद्यार्थीलाई चारित्रिक दीप्ति,नैतिक बल र व्यवहारिक ज्ञान प्रदान गर्ने अभियान अन्तर्गत विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ” प्रिन्सिपल केसीले भन्नुभयो “कुनै प्राविधिक कारणले समग्रमा चार जिपिए ल्याउन सकेनौ त्यो अलग कुरा हो तर,गुणस्तर र अन्य वैयक्तिक विकास तथा रचनात्मक कार्यहरुमा विद्यालयले प्राप्त गरेको सफलता चानचुने होइन ।”
म्याग्दीको शैक्षिक तथा सामाजिक क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल विद्यालयले नियमित पठनपाठन र अतिरिक्त क्रियाकलाप बाहेकका अन्य जीवनोपयोगी र सीपमूलक कार्यक्रमहरु पनि संचालन गर्दै आएको उहाँले बताउनुभयो ।
“माउन्ट एभरेष्टको गर्बिलो इतिहासलाई थप उचाइमा पु¥याउन हामी प्रयत्नशील छौँ,सेलेबस र रिजल्टमा मात्र हामी केन्द्रित छैनौं,विद्यार्थीको चौतर्फी विकास र जीवनका बहुआयामिक पक्षहरुको समेत जग निर्माणका लागि हाम्रो ध्यान केन्द्रित छ” प्रिन्सिपल केसीले भन्नुभयो ।
शैक्षिक गुणस्तरका साथै जिल्ला स्तरमा हुने विभिन्न प्रतियोगिताहरुमा पनि राम्रो नतिजा प्राप्त गर्दै आएको यस विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय सेवा क्षेत्र भित्र मात्रै नभइ जिल्लाका धार्मिक,ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा पनि विभिन्न किसिमका कार्यक्रमहरु गर्ने योजना बनाएको छ ।





